दक्षिण कोरियालीको कार्य समय घट्यो

दक्षिण कोरिया, २८ मङ्सिर २०७५ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।

कोरिया तथ्याङ्क विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२.८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो ।

दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३.८ घण्टा थियो । तथापी, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ ।

तथ्याङ्क विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक २ हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो ।

जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो ।

 

  • 42Read This News:
  • 406992Total reads:
  • 220305Total visitors: