योमरी पुन्ही

यःमरी पुन्हि हेमन्त ऋतु, बिक्रम सम्बतको मसिर पुर्णिमा, नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (यःमरी) बनाएर खाने गर्दछन ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ। यहि दिन उपत्यकाका नेवार समुदाय भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

धान्य पूर्णिमा अर्थात यःमरी पुर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर यःमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा, मुसा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ । चाकु, खुवा, मासको एकएक वटा ठुलो ठुलाृ पनि बनाएर योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यःमरी अन्न भण्डार गर्ने आकारमा बनाइन्छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । यःमरी पुन्हीका दिनदेखि दिन लामो हुने र यःमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

कसरी बनाउने त यःमरी

यःमरी बनाउँदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई बनाइन्छ । तातो पानी हालेर पिठो मुछेको हुनाले पिठो चाँडै सुक्ने हुनाले हावा नर्छिने गरी छोप्नु पर्छ । त्यसपछी सानो सानो पिठोको डल्लालाइ चोर औँलालाइ पानीमा डुवाएर बिस्तारै बिस्तारै पिठोमा प्वाल बनाउनु पर्छ ।

एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । यःमरि मास, खुवा, मासु आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको यःमरी पकाउदा एउटा भाँडामा पानी राखेर उमालिन्छ र त्यसमाथी अर्को प्वालप्वाल भएको भाँडामा यःमरी राखेर बाफले मात्रै पकाइन्छ मम पकाए जस्तो गरी ।

योमरी बनाउने बारेको भिडियोः

नेवार संस्कृतिमा यःमरीको विशेष महत्त्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हीका दिन सबैले यःमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुई वर्षमा दुई वटा, चार वर्षमा चार वटा यस्तै प्रकारले यःमरीको माला लगाइदिने चलन छ ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ यसलाइ आजभोली बेबी सावर पनि भन्ने गरिन्छ । त्यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ ।

योमरी सम्बन्धि लोक कथा

पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र उनले त्यस भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिइछन् र उचित आदर सत्कार र श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रूपको दर्शन दिए र ज्ञान प्रदान गरी अन्तर्ध्यान भए । कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (यःमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । अनि अन्न, धन र योमरी दान गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।

योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

 

  • 52Read This News:
  • 312505Total reads:
  • 151399Total visitors: