आइजिपी उपाधि सैनिक विद्यालयलाई

काभ्रेपलाञ्चोक, २८ मङ्सिर २०७५ । नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ ।

बनेपा नगरपालिका–१३ स्थित नेपाल प्रहरी विद्यालय साँगाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता सैनिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रनिङ ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो । बिहिवार भएको अन्तिम खेलमा सैनिक विद्यालयले आयोजक नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ गोलले पराजित गरेको हो ।

विजेता सैनिक विद्यालयका सन्दिप गुरुङले खेलको २० मिनेटमा, विशाल आलेमगरले २६ मिनेटमा र ७२ मनेटमा तथा उत्तम शाहीले ५७ मिनेटमा गोल गरेका थिए भने प्रहरी विद्यालयका पुजन रानामगरले खेलको ३१ मिनेट र शेखर आलेमगरले ६७ मिनेटमा १/१ गोल गरेका थिए ।

प्रतियोगितामा सैनिक विद्यालयका उत्तम शाहीलाई म्यान अफ दि म्याच, रोहित रानामगरलाई बेष्ट गोलकिपर र विशाल आलेमगरलाई हाई स्कोर तथा प्रहरी विद्यालयका निर्जल खरेललाई इमर्जिङ स्कोर र शेखर रानामगरलाई म्यान अफ दि सिरिज घोषणा गरिएको थियो । नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा काभे्रपलाञ्चोक तथा काठमाडौँ उपत्यकाका १२ विद्यालयको सहभागिता थियो ।

प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतियलाई रु १० हजार नगद प्रदान गरिएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीले अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरेकामा खुशी व्यत्तः गर्दै “अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अनुशासित तवरले लाग्नुहोस्, तपाईहरुको भविष्य उज्जवल छ, भन्नुभयो ।”

 

  • 28Read This News:
  • 407004Total reads:
  • 220317Total visitors: