काठमाडौँ, ७ वैशाख २०७४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ ।
जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको, प्रष्टताका साथ योजना बनाइएको र शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाइएको र राजनीतिक दलले निर्वाचनको प्रचारप्रसारसमेत सुरु गरिसकेको जानकारी उहाँले दिनुभयो ।
निर्वाचनलाई भयरहित बनाउन सरकारको तर्फबाट कुनै पनि कसर बाँकी नराखिएको र सरकार पूर्ण क्षमताका साथ आवश्यक वातावरण बनाउन लागिपरेको उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछि पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्ने योजना बनाइएको र लागू गरिएको उहाँको भनाइ थियो ।
सरकारले सामान्य, संवेदनशील र अतिसंवेदशील क्षेत्र पहिचान गरी निर्वाचनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
गृहमन्त्री निधिले सांसद सत्यनारायण मण्डलको घरमा भएको भनिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सदनलाई जानकारी दिनुभयो । मुलुकका विभिन्न स्थानमा भएको आगलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि उहाँले बताउनुभयो ।


