आज नागपञ्चमी

आज नागपञ्चमी, नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूको एक विशेष र पवित्र पर्व हो, जुन प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन श्रद्धा र भक्तिका साथ मनाइन्छ। यस दिन नाग देवताको विशेष पूजाआराधना गरिन्छ।

आज बिहान सबेरै नुहाइधुवाइ गरेर घरको मूलढोकामाथि गाईको गोबर, दुबो, अक्षता र कुश प्रयोग गरी नागको चित्र (फोटो) टाँस्ने गरिन्छ। नाग देवतालाई गाईको दूध, लावा (भुटेको धान), दुबो, फूल, पहेँलो टीका, फलफूल तथा मिष्ठान्न अर्पण गरिन्छ। नागपञ्चमीको दिन अष्टनागको स्मरण गरिन्छ । यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी ८ प्रमुख नागहरूको पूजा तथा ध्यान गरिन्छ।

घरको ढोकामा नागको तस्बिर टाँस्नाले चट्याङ, आगलागी, आँधीहुरी तथा सर्पको भयबाट मुक्ति मिल्छ भन्ने विश्वास छ। सनातन धर्ममा नागलाई पानी, मूल र वर्षाका देवताका रूपमा मानिन्छ। खेतीपातीको समयमा पर्याप्त वर्षा होस् र अन्नबाली सुरक्षित रहोस् भनेर पनि नागको पूजा गरिन्छ। प्राय घरको इनार भएको ठाउँमा नागको बासहुने जन बिश्वासका साथ इनारलाई पनि आज सरसफाइ गरेर नागको बासस्थानको रुपमा पुजा गर्ने गरिन्छ । सर्पले बालीनाली नष्ट गर्ने मुसा तथा अन्य किराहरूलाई खाएर किसानलाई मद्दत गर्ने भएकाले यो पर्व प्रकृति र जीवजन्तु प्रतिको सम्मानको प्रतीक पनि हो।

काठमाडौँ उपत्यकाका टौदह, नक्सालको नागपोखरी, भक्तपुरको सिद्धपोखरी, धापाखेलको नागदह तथा देशभरिका विभिन्न नाग मन्दिरहरू र तीर्थस्थलहरूमा यस दिन विशेष मेला तथा भक्तजनहरुको भीड लाग्ने गर्दछ।

 

  • 35Read This News:
  • 479757Total reads:
  • 287317Total visitors:

Be the first to comment

Leave a Reply