झापा, ७ वैशाख २०७४ । झापामा वार्षिक रु ५ करोड बराबरको च्याउको कारोबार हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु २ लाखदेखि रु ३ लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ ।
च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउनुहुन्छ । गर्मी समयमा २२ दिनामा तथा जाडोको समयमा करिब ३० दिनमा तयार हुने च्याउ बजारमा प्रतिकिलो रु १०० मा बिक्री हुने गरेको छ ।
उपभोक्ताले डल्लोखालको च्याउ बढी मन पराउने गरेका छन् । एक प्याकेट च्याउको बीउको मूल्य रु ३० पर्छ भने यसबाट लगभग ३ किलो च्याउ उत्पादन गर्न सकिन्छ । बिर्तामोडको पाथीभरा च्याउ उद्योग र चन्द्रगढीको विज्ञान च्याउ उद्योगले च्याउको बीउ उत्पादन गर्छन् ।
पाथीभरा च्याउ उद्योगका सञ्चालक रमेश खत्री विगत ५ वर्षदेखि बीउ उत्पादन गर्दैआएको बताउनुहुन्छ । वार्षिक करिब रु ४० लाखको बीउ बिक्री गर्ने गरेको उहाँको भनाइ छ । च्याउको बीउ उत्पादन गर्न सरकारले ९० प्रतिशत अनुदानमा करिब रु ७ लाख मूल्य पर्ने २ थान शीतभण्डार गर्ने मेसिन उपलब्ध गराएको छ ।


