४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार बचतकर्ताको रकम फिर्ता गरेको समितिका अध्यक्ष डिल्लीराज आचार्यले जनाएको छ । समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।

७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारीसम्बन्धी कानुनी व्यवस्था र बचत फिर्तासम्बन्धी कार्यविधिलाई आधार बनाइएर साना बचतकर्तालाई प्राथमिकता दिने नीतिअनुसार पहिलो चरणमा रु १० हजार वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढाइएको आचार्यले जानकारी दिनुभएकोछ ।

कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीडित बचतकर्तालाई प्राथमिकता दिइनेछ ।

“हालसम्म विभिन्न सहकारीबाट गरी रु ४२ करोड जम्मा भएको अवस्था छ । यसमध्ये कान्तिपुर सहकारीबाट मात्रै करिब रु १२ करोड रहेको छ । करिब रु १ करोडदेखि १२ करोडसम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैँअघि रकम वितरण गर्न सकिने गरी योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

यसका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती कानुनी तथा नीतिगत व्यवस्था भएको उहाँको भनाइ छ । हालको कानुनअनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समस्याग्रस्त सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नपाउने व्यवस्था छ ।

अध्यक्ष आचार्यले ऋणीको सम्पत्ति लिलाम गरी रकम सङ्कलनको प्रक्रिया अघि बढाइएको समेत उल्लेख गर्नुभयो । ऋणीको सम्पत्तिमा केही सहकारीले त केही बैंक तथा वित्तीय संस्थाले पनि रोक्का गरेको अवस्था रहे पनि पहिलो चरणमा सहकारीको मात्रै रोक्का रहेको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

करिब ३५० लालपुर्जा संकलन गरिएको छ । ती सम्पत्तिलाई क्रमशः लिलामीमा लैजाने तयारी भइरहेको यी विभिन्न स्रोतबाट रकम सङ्कलन भएपछि कम्तीमा प्रत्येक ६।६ महिनामा रु १ अर्बभन्दा बढी सङ्कलन भएको अवस्थामा सम्बन्धित बचतकर्तालाई दामासाहीका आधारमा वितरण गर्ने समितिको योजना छ । तर यसका लागि हालको कानुनी र कार्यविधिगत व्यवस्थामा सुधार आवश्यक भएको समितिको भनाइ छ ।

समितिका अनुसार कान्तिपुर, गोर्खा र प्यासिफिक सहकारीका केही बचतकर्तालाई पनि विगतमा रोकिएको रकम क्रमशः वितरण भइरहेको छ । कान्तिपुरका बचतकर्तालाई रु २५ हजार, गोर्खा बचतका बचतकर्तालाई रु १७ हजार तथा प्यासिफिकका बचतकर्तालाई रु १२ हजार ६०० का दरले रकम वितरण भइरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभएको छ । यो जानकारी बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको आधारमा तयार परिएको हो ।

 

  • 26Read This News:
  • 479757Total reads:
  • 287317Total visitors:

Be the first to comment

Leave a Reply