व्यवसायिक तरकारी खेतीले जीवननै परिवर्तन

कञ्चनपुर, ४ असार २०७४ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ शान्तिपुरका भागिराम चौधरीलाई कडा मेहनत गरेर खेतमा उब्जाएको अन्नवालीबाट वर्षभरी खानलाई पुग्दैन्थ्यो ।

खानलाई नपुग्ने भएपछि उहाँले सोहि खेतमा व्यावसायिक तरकारीखेती सुरु गरें । तरकारी खेती गर्न थालेपछि अहिले उनको जीवनशैलीमा परिवर्तन भएको छ । खेतमा उत्पादन गरेको तरकारी बेचेर उनले खानलाई अन्न खरिद गर्न, बालबालिकाको विद्यालय खर्च जुटाउन, लुगाफाटोको व्यवस्था गर्न र घरखर्च चलाउन थालेको छ ।

तरकारी बिक्री गरेर घरखर्च मात्रै चलेको छैन, उहाँले भन्नुभयो, “तरकारी बजारमा बिक्री गरेर गाउँमै पक्की घर निर्माणसँगै तरकारी ढुवानीका लागि मोटरसाइकल समेत जोडिएको छ ।” त्यति मात्र होइन्, यसैको कमाइले अत्तरिया बजारमा रु पन्ध्र लाख मूल्यपर्ने घडेरीसमेत खरिद गरेको उहाँ बताउनुहुन्छ ।

एक दशकअघिदेखि तरकारी खेतीमा संलग्न रहँदै आउनुभएका चौधरी गोलभेडा, काउली, बन्दागोभी, लौका, खुर्सानी, करेला, फर्सी काँक्रा, बोडी, चिचिन्डा, रामतोरियालगायतका तरकारी एक बिगाहामा रोपेर वार्षिक रु ३ लाखदेखि रु ५ लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

चौधरी मात्र होइन, शान्तिपुरका ९० परिवारमध्ये ६५ परिवारले बाह्रैमहिना तरकारीखेती गर्दै आएका छन् । दैनिक तरकारीखेतीमा संलग्न परिवारका महिलाले टोकरी टाउकोमा बोकेर र पुरुषले साइकल र मोटरसाइकलमा गरी ७० क्वीन्टल भन्दा बढी तरकारी बिक्री गर्दै आएका छन् ।

दश कठ्ठा जग्गामा तरकारीखेती गर्दै आएका स्थानीय रतनलाल डगौराको आर्थिक अवस्थमा समेत सुधार आएको छ । तरकारी बिक्री गरेर प्राप्त आम्दानीबाट उनले खेतमा सिँचाइ गर्नका लागि पम्पसेटसँगै खेत जोताइका लागि पावर टिलर समेत जोडेका छन् । तरकारी खेतीले आम्दानी बढेपछि विगतमा जस्तो मजदुरीका लागि बजारतर्फ जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।

तीन महिनाको अवधिमै रु ४० हजार बढीको तिते करेला बिक्री गरेको बुद्धिराम चौधरीले आर्थिक उपार्जनका लागि तरकारी खेती उपयुक्त माध्यम भएको बताउनुभयो । यहाँका अधिकांश किसान जिल्ला कृषि विकास कार्यालयबाट तालिम लिएर आधुनिक तरिकाबाट तरकारीखेती गर्दै आएका छन् । “परम्परागत तरिका भन्दा आधुनिक तरिकाले तरकारीखेती गर्दा बढी आम्दानी हुन थालेपछि यसै विधिलाई अपनाउँदै आएका छौं” स्थानीय किसान पतिराम चौधरीले भन्नुभयो ।

यहाँ उत्पादित तरकारीले कैलालीको अत्तरिया, धनगढी र बाँकेको कोहलपुरसम्मका ग्राहकको मागलाई धानेको छ । तरकारी खेतीमा संलग्न किसानलाई गाँउ नजिकै रहेको नदीमा पक्की पुल नहुँदा सास्ती हुने गरेको गुणासो उनीहरुले व्यक्त गरेका छन् ।

नदीमाथि बनाइएको झोलुङ्गे पुलमा टाउको, साइकल र मोटरसाइकलमा मात्रै तरकारी लग्न सकिने भएकाले उत्पादित पूरै तरकारी बजारसम्म पु¥याउन नसकिँदा किसानले नोक्सानीसमेत व्यहोर्दै आएका छन् ।

गएको हिउँदमा यहाँका किसानले उत्पादन गरेको १०० क्वीन्टल काउली, ४० क्वीन्टल गोलभेडा बजारसम्म पुर्याउन नसक्दा खेतमै कुहिएको थियो । नदीमा पक्की पुलको व्यवस्था भए खेतमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याएर दोब्बर बढी आम्दानी गर्न सकिन्छ, मनिराम चौधरीले भन्नुभयो, “यहाँका स्थानीयले पुलको माग धेरै अघिदेखि गर्दै आए पनि पूरा हुनसकेको छैन ।”

 

  • 88Read This News:
  • 417464Total reads:
  • 230220Total visitors: