“पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”महामन्त्री डा शशांक

चितवन, ८ फागुन २०७४ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा मंगलवार पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”

वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ”, भन्नुभयो ।

अब काँग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उहाँले यो एकताले पनि काँग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको छ भन्नुभयो ।

महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गर्नुभयो ।

महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उहाँले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने धारणा व्यक्त गर्नुभयो ।

महामन्त्री डा कोइरालाले पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतिमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गर्नुभयो । चुनाव हुने अवस्थामा भने नजाने उहाँले प्रस्ट्याउनुभयो ।

महामन्त्री डा कोइरालाले काँग्रेसले चुनावका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा काँग्रेस गम्भीर रुपमा अघि बढ्ने बताउनुभयो ।

 

  • 64Read This News:
  • 458619Total reads:
  • 268182Total visitors: