एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त वनाउने वातावरण मन्त्रीको वचन

काठमाडौँ, ८ फागुन २०७४ । वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ ।

स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अपिलपत्रमा सडक निर्माण÷विस्तारलाई व्यवस्थित नगरिनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड दिनु र वातावरणमैत्री सवारीसाधनलाई निरुत्साहित गरिनुले काठमाडौँलगायत शहरी क्षेत्रको वातावरणीय प्रदूषणको समस्या विकराल बन्दै गएको उल्लेख छ ।

सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीको प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाउनुभयो ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले रासायनिक पदार्थको प्रयोगलाई नियन्त्रण गर्न, प्लाष्टिकको प्रयोग बन्द गर्न तथा विद्युतीय सवारीलाई प्राथमिकता दिन सकिएमा राजधानीलाई स्वच्छ र स्वास्थ बनाउन सकिने धारणा राख्नुभयो ।

सोही संस्थाका कार्यक्रम व्यवस्थापक राजन थापाले राजधानीको वायु प्रदूषणको समस्याप्रति नीतिनिर्माता तथा सर्वसाधारणलाई सचेत एवं जागरुक गराउन मास्कमाडौँ–३ अभियान शुरु गरिएको जानकारी दिँदै मन्त्रालयसँग सहकार्य गरी वातावरण संरक्षणमा काम गर्न तयार रहेको बताउनुभयो ।

 

  • 43Read This News:
  • 458926Total reads:
  • 268472Total visitors: