काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यको संयोजकत्वमा शहीद सप्ताह मनाउन मुल समारोह समिति गठन

काठमाडौँ, ९ माघ २०७४ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मनाउन मुल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिको आज सम्पन्न बैठकले संयोजकमा प्रमुख शाक्य र उपसंयोजकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई चयन गरिएको छ ।

समितिको सदस्य सचिवमा नगर नायब प्रहरी उपरीक्षक धनपति सापकोटा तथा सदस्यहरुमा कामपा वडा नं ७, १२, १५ र २६ का वडाध्यक्ष र महानगर कार्यालयका प्रशासकीय प्रमुख धनीराम शर्मा रहनुभएको छ ।

हरेक वर्ष महानगरको संयोजकत्वमा मनाइँदै आएको शहीद सप्ताहअन्तर्गत यस वर्ष पनि यही माघ १० देखि १६ गतेसम्म मनाउने निर्णय गरिएको छ । जसअन्तर्गत माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ ।

त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान, शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

समितिले माघ १६ गते शहीद दिवसका दिन बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु हुनेछ । प्रभातफेरिमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोलीसहितको प्रभातफेरि बिहान ९ बजे सहिद स्मारक लैनचौरमा पुगी ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

 

  • 37Read This News:
  • 439206Total reads:
  • 251137Total visitors: