कालीगण्डकी करिडोरको पर्वतखण्डमा दुईवटा पुल निर्माण शुरु

पर्वत, १९ पुस २०७४ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ ।

उक्त खण्डमा निर्माण गरिने ३ वटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । प्रदेशसभा सदस्य विकास लम्सालले हिजो एकैदिन दुईवटै स्थानमा पुल शिलान्यास गर्नुभयो । उक्त करिडोरको पर्वत र स्याङ्जाखण्डमा चारवटा पुल निर्माण हुँदैछ् ।

कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुष्माबजार नजिकै मोदीवेणीमा रु ९ करोड १४ लाखको लागतमा पुल निर्माण हुन लागेको हो । ६० मिटर लामो तथा ११ मिटर चौडा हुने पुल २०७५ असारसम्ममा सम्पन्न हुनेगरी निर्माण शुरु गरिए पनि पुलको निर्माणस्थल परिवर्तन गर्नुपरेका कारण थप एक वर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । अहिले निर्माण शुरु भएको स्थलभन्दा २०० मिटर तल पुल निर्माण गर्दा मोदीवेणी दिव्यधामका संरचना हटाउनुपर्ने भन्दै विरोध भएपछि स्थान परिवर्तन गरिएको थियो । मोदीखोलामा पक्की पुल निर्माणपछि पर्वतको सदरमुकाम कुष्माबजारदेखि क्षेत्र नं २ का फलेवास नगरपालिका, बिहादी, महाशिला र पैञ्यु गाउँपालिका तथा बागलुङका जैमुनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

यसैगरी लमायखोलामा पनि रु ५ करोड १३ लाख २ हजारको लागतमा पुल निर्माण हुने उक्त आयोजनाले जनाएको छ । पुल २५ मिटर लामो र ११ मिटर चौडाइको हुने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । यो पुल पनि २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाहेक पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको कृष्णगण्डकी गाउँपालिकाको बीचमा पर्ने सेतीवेणी र स्याङ्जाको मिर्मीमा आँधीखोलामा पनि पुल निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । चारवटै पुल निर्माण पछि स्याङ्जाको मिर्मीदेखि पर्वतको मालढुंगासम्मको ५५ किमीमा बाह्रै महिना सावरी साधन चल्नेछ । करिडोरको पर्वतखण्डमा दुई किमीमात्रै मार्ग खोल्न बाँकी छ ।

प्रदेशसभा सदस्य लम्सालले यस खण्डमा चारवटै पुल निर्माण भएपछि मुस्ताङबाट सोझै गैँडाकोटसम्म सवारीसाधन चल्ने हुँदा पर्वतको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

 

  • 43Read This News:
  • 459408Total reads:
  • 268920Total visitors: