ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ, १९ पुस २०७४ । लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ ।

अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात्सँगै बिरामीले प्राथमिकस्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका छन् ।

उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको बताए ।

“ल्होत्से बहुउद्देश्यीय प्रालिसँग महानगरपालिकाले नयाँ वर्षपार्कलाई अत्याधुनिक बसपार्क बनाउने भनेर सम्झौता गरेको थियो, त्यो कुरा विस्तारै पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा एक–एकवटा स्वास्थ्य क्लिनिक भए पनि यो सेवाले थप सहयोग पुग्ने छ । ”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रु र चालकलाई लक्षित गरेर निःशुल्क सेवा दिएर राम्रो कामको शुरुवात् गरेको बताउनुभयो । “अस्पतालले चालक र यात्रुलाई सेवा दिने उद्देश्यले गरेको कामलाई महासंघको भरपुर सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बिरामी भएर उपत्यका आउने बिरामीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आकस्मिक स्वास्थ्यसेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम तिवारीले नयाँ बसपार्कलाई व्यवस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ं ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले पैसा कमाउनका लागिभन्दा पनि सेवा प्रदान गर्नका लागि उक्त केन्द्र स्थापना गरिएको र लामो समयसम्म सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा केन्द्रको स्थापनबाट बिरामीले सामान्य उपचार पाउनाका साथै रोगका बारेमा जानकारी पनि लिन पाउने भएका छन् ।

 

  • 34Read This News:
  • 439176Total reads:
  • 251107Total visitors: