अल्वानिया, ४ पुस २०७४ । अल्बानियाको प्रतिपक्षी दलले संसद भवन बाहिर गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
सरकारले अन्तरिम महान्यायाधिवक्ता नियुक्त गर्न लागेपछि त्यसको विरोध गर्न बिपक्षीहरुले सोमबार विरोध प्रदर्शन गरेका हुन् ।
युरोपेली संघ र अमेरिकाका झण्डा लिएका झण्डै ३ हजार प्रदर्शनकारीले सरकारका विरुद्धमा नाराबाजी पनि गरेका थिए ।
उनीहरूले असंवैधानिक तरिकाबाट सरकारले कार्यवाहक महान्यायाधिवक्ता नियुक्त गर्न लागेको भन्दै विरोध गर्नु परेको बताएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई धकेलेर सुरक्षाको पहिलो घेरा भन्दा बाहिर पु¥याएको थियो भने प्रदर्शनकारीहरुले उनीहरूप्रति विस्फोटक पदार्थ प्रहार गरेका थिए ।
स्थानीय सञ्चार माध्यमहरूले घटनामा परी धेरै जना घाइते भएको समाचार लेखेका छन् ।
विपक्षी सांसदहरूले पनि संसदभित्रै विस्फोटक पदार्थ प्रहार गरेका थिए । उनीहरूको अवरोध र विरोधकाबीच पनि अन्तरिम महान्यायाधिवक्ताका लागि संसदमा मतदान गराइएको छ । मतदानबाट अर्टा मार्कु कार्यबाहक महान्यायाधिवक्ताका रुपमा निर्वाचित हुनुभएको छ ।
उहाँको पक्षमा सत्तारुढ दल सोसलिष्ट पार्टीको ६९ मत परेको थियो । २ जनाले उहाँको नियुक्तिको विपक्षमा मतदान गरेका थिए भने अरु दुई जनाले मतदान नै गरेनन् । विपक्षी दलका सांसदहरुले त मतदान बहिस्कार नै गरेका थिए ।


