कास्की, ९ भाद्र २०७४ । पोखरा वडा नं.– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगिताको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २५–१८ र २५–१२ (३–०) ले पराजित गरेको थियो ।
प्रथम भएसँगै एपिएफले नगद रु ७५ हजार १ सय १ रुपैयाका साथगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै द्वितीय भएको न्यू डायमण्ड एकेडेमीले नगद रु ५० हजार १ सय १ रुपैयाकासाथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै नेपाल पुलिस क्लब ले पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१८, २५–१९, २२–२५ र २५–२२ (३–१) ले पराजित गरी तेस्रो भएको छ भने पश्चिमाञ्चल भलिबल सङ्घ चौथो भएको छ । प्रतियोगितामा तेस्रो हुने टोलीले रु २० हजार तथा चौथो हुने टोलीले रु १५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले विजयी टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो ।
गत मंगलबारदेखि शुरु भएको सो प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।


