वाइसिएलद्वारा युद्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत हल गर्न आग्रह

काठमाडौँ, ९ भाद्र २०७४। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्नेमा जोड दिएको छ ।

हालै सम्पन्न वाइसिएलको दोस्रो महाधिवेशनले गरेको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले बृहत् शान्ति सम्झौताको मर्मअनुसार नै युद्धकालीन मुद्दाको निरुपण गर्न माग गरिएको बताउँदै युवालाई विदेश पठाउने भन्दै ठगी गर्ने र श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेकोछ ।

यस्तै बाढी पहिराका कारण मुलुकभर भएको जनधनको क्षतिलाई ध्यानमा राखी तराई–मधेशमा तत्काल रु ५ लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत वाइसिएलले आग्रह गरेको छ ।

यस्तै बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने कार्यलाई निरन्तर अगाडि बढाउनेमा जोड दिँदै वाइसिएलले सामाजिक अभियानअन्तर्गत ७ वटै प्रदेशमा स्वास्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत कार्यालयलगायत सार्वजनिक सहकार्यका कार्यालयमा स्वयंसेवकीय भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।

युवाको विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्नका लागि राष्ट्रिय उद्योग सञ्चालन गर्न सरकार तथा राष्ट्रिय पूँजीपतिसँग वाइसिएलले आग्रह गरेको छ । युवा व्यवसायीको साझेदारीमा ६ महिनाभित्र १ हजारभन्दा बढी युवालाई रोजगार बनाउने घोषणा गरेको वाइसिएलले युवालाई विभिन्न सीपमूलक स्वदेशी तथा विदेशी तालीम र सीप विकास कार्यक्रममा जोड दिने जनाएको छ ।

वाइसिएलले एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट रु १ लाख जम्मा गरी कार्यकर्ता संरक्षण कोष खडा गरी यसलाई वृद्धि गर्दै लगिने जनाएको छ । सो कोषको रकमबाट आपत्कालीन उद्धार, नेता कार्यकर्ता दुर्घटनामा पर्दा औषधि उपचारलगायत विषयमा खर्च गरिने उल्लेख छ ।

यस्तै वाइसिएलले ‘संगठन सुदृढीकरण, युवा जागरण तथा परिचालन अभियान’ नामक ३ महिने अभियान सञ्चालन गर्नेछ । सो अभियानअन्तर्गत ३ लाखभन्दा बढी सक्रिय सदस्यता नवीकरण गर्ने उद्देश्य राखेको र आगामी स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावका लागि ‘जसको एजेण्डा, उसैलाई भोट’ नाराअन्तर्गत चुनावी परिचालनको अभियान सञ्चालन गर्नेसमेत जानकारी दिएको छ ।

 

  • 50Read This News:
  • 438310Total reads:
  • 250308Total visitors: