दक्षिण कोरिया, ८ भाद्र। दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार रिहा भएकीछिन ।
७३ बर्षीय नेतृ सुकलाई गैरकानुनी राजनैतिक कोष स्वीकार गरेको अभियोगमा २ बर्षे जेल सजाय तोकिएको थियो ।
उनी सन् २००६ को अप्रिलदेखि एक बर्ष दक्षिण कोरियाको प्रथम महिला प्रधानमन्त्रीका रूपमा तत्कालिन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन । उनी दक्षिण कोरियाको इतिहासमा जेल जाने पहिलो पूर्व प्रधानमन्त्री हो ।
हानमाथि सन् २०१५ मा ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम आफ्नो दलको राष्ट्रपतीय निर्वाचनको मनोनयनका लागि एक व्यापारीबाट सन् २००७ मा गैरकानूनी रूपमा लिएको अभियोगमा अदालतले २ बर्षको जेल सजाय सुनाएको थियो ।
तर हानले तत्कालिन अनुदारवादी सरकारले सरकारी अभियोजक (कानूनी अधिकारीलाई) प्रयोग गरी आफ्नो ख्यातीलाई बदनाम गराउन दोषी ठहर गराएको भन्दै आरोपको खण्डन गर्दै आउनुभएको छ ।
बुधबार विहान जेलमुक्त हुँदा नेतृ सुकको स्वागत गर्न उनका हजारौँ समर्थक तथा कैयौँ राजनैतिक सहकर्मी सोलको बाहिरी क्षेत्रमा रहेको जेल परिसर बाहिर भेला भएका थिए ।
कोरियाली समाचार संस्था योन्हापले सुकको भनाईलाई उद्धृत गर्दै भनेको छ, “दुई बर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो । अन्ततः नयाँ संसार पाएको र यसप्रति आभारी छु ।”
दक्षिण कोरियामा सुक बाहेक पनि विभिन्न भ्रष्टाचार अभियोगमा पूर्व नेता तथा राष्ट्रपतिहरूले जेल सजाय भोगेका छन ।
चुन दु ह्वान, रोह ताए उ जस्ता शक्तिशाली नेतालाई भ्रष्टाचार तथा राष्ट्रघात अभियोगमा र पूर्व राष्ट्रपति रोह मु ह्युन लगायतका अन्य नेताहरूले पनि जेल सजाय विताएको थियो ।
दक्षिण कोरियामा भ्रष्टाचार आरोपमा संसदबाट महाभियोग लगाइएपछि अदालतको फैसलाद्वारा पदबाट हटाइनुभएका पूर्व राष्ट्रपति पार्क ग्युन हे पहिलो महिला राष्ट्रपति हुन ।


