सातौँ विश्व बाघ दिवस शनिवार मनाइँने सन २०२० सम्ममा बाघको संख्या दोव्वर वनाउने

काठमाडौँ, १२ साउन २०७४ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ ।

‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि शनिबार विश्व बाघ दिवस मनाउन लागिएको हो ।

सम्मेलनले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ । नेपालमा सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो ।

विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले प्रत्येक चार वर्षमा राष्ट्रियरुपमा बाघ गणना गर्दै आएको जानकारी दिनुभयो । “सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको बाघको संख्या अब सन् २०१७ वा यसै वर्ष गणना हुँदैछ”–उपसचिव श्रेष्ठले भन्नुभयो ।

सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए ।

विभागले सन् २००९ को तुलनामा सन् २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ । विभागले बाघको संख्या वृद्धि गर्नका लागि सन् २०१६ मा बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना बनाएर काम गरिरहेको छ जसले बाघको संरक्षण हुनुका साथै जैविक मार्गको संरक्षण हुने विभागले विश्वास लिएको छ ।

विभागले शनिबार बाघ संरक्षणसम्बन्धी विभागको परिसरमा व्यानर अनावरण गर्ने र दिउँसो नेपालमा बाघ संरक्षणसम्बन्धी विज्ञसँग छलफल गर्ने कार्यक्रम राखेको छ ।

यस्तै, प्रत्येक बाघ पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षले समेत बाघ दिवस भव्यताका साथ मनाउने विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिनुभयो ।

 

  • 50Read This News:
  • 417303Total reads:
  • 230060Total visitors: