नागरिक न्युजवाटः सेकुवा पारखीमाझ ‘बाजेको सेकुवा’ बारे थप चर्चा गरिरहनुपर्दैन । झापाका दीनानाथ भण्डारीले काठमाडौँमा सुरु गरेको ‘बाजेको सेकुवा कर्नर’ अहिले राजधानीमा १० र राजधानीबाहिर चितवन र पोखरमा दुई गरी १२ वटा आउटलेटमा विस्तार भइसकेका छन् । छिट्टै बुटवलमा पनि बाजेको सेकुवाको नयाँ आउटलेट खुल्दैछ । सेकुवाको ‘ब्रान्ड’का रूपमा स्थापित भएको बाजेको सेकुवाले ‘बाजेको मसला’लाई पनि नयाँ ब्रान्डका रूपमा विस्तार गरिरहेको छ ।
बाजेको मसलालाई नयाँ ब्रान्डका रूपमा विकास गर्न लागिपरेकी छिन् दीनानाथकी बुहारी नितिमा भण्डारी । १२ वर्षदेखि बाजेको सेकुवामा आबद्ध उनी पाँच वर्षयता बाजेको सेकुवाको ‘सेन्टर किचन’ र ‘रेसिपी’ हेर्दै आइरहेकी छिन् । ‘खाना र परिकारमा विशेष रुचि भएकाले सेन्टर किचनको जिम्मेवारी लिएर ‘फेमिली बिजनेस’ सम्हालिरहेको छु,’ नितिमा भन्छिन् ।
बाजेको सेकुवाको स्वाद अन्यत्रभन्दा फरक हुनुका विभिन्न कारणमध्ये मसला पनि एक हो । ‘हामीले प्रयोग गर्ने मसला बुबा (दीनानाथ) ले लामो समय टेस्ट गरेर तयार पार्नुभएको हो । कुन–कुन मसला कति–कति मात्रामा मिलाएर प्रयोग गर्ने भन्ने जानकारी नभएसम्म मसला प्रयोग गरेर मात्र खाना स्वादिलो हुँदैन,’ नितिमा भन्छिन् । सेकुवा खाना आउने ग्राहकहरूले मसलाको डिमान्ड गर्न थालेपछि बाजेको मसला उत्पादन गर्ने सोच आएको उनी बताउँछिन् ।
बाजेको सेकुवाको आउटलेट विस्तारसँगै मसलाको परिणाम धेरै चाहिन थालेपछि आफ्ना लागि भने पनि व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर मसला उत्पादन गर्न थालिएको उनी बताउँछिन् । बाजेको मसलालाई नेपाली मसलाका रूपमा ब्रान्डिङ गर्ने योजनाका साथ काम गरिरहेको उनी बताउँछिन् ।
कुकिङमा औपचारिक शिक्षा हासिल नगरे पनि नितिमाले लामो समयदेखि खाना बनाइरहेका सेफहरूसँग सोधेर खानाका विभिन्न परिकार बनाउन सिकेको बताउँछिन् । ‘मैले मेरी हजुरआमा र आमाबाट नै खानाका विभिन्न परिकार बनाउन सिकेकी हुँ,’ नितिमा भन्छिन्, ‘परिकार बनाउने परम्परागत सीपलाई अपनाउने हो भने हामी स्वादिला परिकार सजिलै बनाउन सक्छौँ ।’

बाजेको मसला बजारमा ल्याउनुअघि धेरै पटक स्वाद टेस्ट गरिएको नितिमा बताउँछिन् । ‘मसलाको फर्मुला तयार पारेपछि मेसिनबाट उत्पादन सुरु गर्न थालिएको हो,’ उनी भन्छिन्, ‘सबैभन्दा कठिन काम नै पहिलाको जस्तै स्वाद आउने मसला एकै पटक धेरै परिणाममा उत्पादन गर्नु थियो । नियमित बाजेको सेकुवा खाने ग्राहकहरूको सुझाव लिएर स्वादमा कुनै फरकपन नआएपछि मसला उत्पादन गर्न थालिएको हो ।’ केही सपिङ मलमा मात्र उपलब्ध हुने बाजेको मसला अहिले काठमाडौँ उपत्यकाका अन्य पसलमा पनि उपलब्ध हुन थालेको छ । बाजेको मसला विदेश निर्यात गर्ने तयारी पनि थालिएको नितिमा बताउँछिन् ।
News source: Nagarik News
यो लेख नागरिक न्युजको हो । नागरिक न्युजको थप खवरहरु पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोला ।
For more: www.nagariknews.com



