चितवन, १ असार २०७४ । चितवनमा वुधवार बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ ।
बिहान करिब ४ बजेतिर भारी वर्षासहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको चितवन केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्तले बताए ।
करिब रु ४/५ करोडको केरा नष्ट भएको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो १० बिगाहा क्षेत्रको सवै केरा नष्ट भएको बताए ।
हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ । पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् ।
चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष २ हजार ४०० बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई २ हजार ६२० बिगाहा पुगेको हो ।
जिल्लामा वार्षिक रु १ अर्बको केराको कारोबार हुँदै आएको छ ।


