म्याग्दीका बास्कुनावासी धानखेती छोडेर सुन्तला बगैँचा रमाउदै

म्याग्दी, २७ जेठ २०७४ । म्याग्दी बेनी नगरपालिका– ४ बास्कुनावासीले धानखेती छोडेर सुन्ताला खेतीतर्फ आकर्षित भएका छन् ।

धानरोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगैँचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् ।

न्यूजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्राष्ट्रियस्तरको बगैँचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाईसमेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाउन स्थानीयवासीलाई तालिम र प्रविधि उपलव्ध गराएपछि बास्कुनालाई अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा बनाउने पहल सुरु भएको छ ।

सुन्ताला खेतीका लागि जिल्लामा नै चर्चा कमाएका बास्कुनाका लालबहादुर केसी, शेरबहादुर केसी, याम केसी, दीपेन्द्र गुरूङ, देउबहादुर हुमेन, तिलक गुरूङलगायतले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्ताला बगैँचा बचाउन सुरु गरेका छन् । उनीहरुले सुन्तालाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने र रोगकीराबाट नियन्त्रण गर्ने प्रविधिको प्रयोग गर्न थालेपछि बास्कुना पूर्ण अग्र्यानिक सुन्ताला बगैँचा बनेको छ ।

धान खेतीलाई छोडेर सुन्तलाखेती सुरू गरेपछि गाउँका अरुले समेत त्यसको सिको गरेका हुन् । २२ घरधुरीको बसोवास रहेको बास्कुनाका १९ घरधुरीले करिब साढे दुई सय रोपनीमा अन्नबाली छोडेर सुन्तलाखेती गरेका छन् । कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा गाउँमा हरेक वर्ष कृषकले खेतबारीमा सुन्ताला नयाँ बिरुवा विस्तार गरिरहेका छन् ।

२०६४ सालमा न्यूजिल्यान्डमा कृषिखेती गरेका लालबहादुर केसीको प्रयासमा सुरू भएको सुन्तलाखेतीमा सिङ्गो गाउँनै आकर्षित भएपछि जिल्ला कृषि विकास कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको छ ।

गाउँलाई फ्रुट–मिल्क भिलेज घोषणाको तयारीमा जुटेका बास्कुनावासीले दैनिक करिब एक सय लिटर दूधसमेत सदरमुकाम बेनीबजारमा ल्याउने गरेका छन् । यसवर्ष नयाँ बोटबाट समेत पहिलोपटक फल दिने तयारीमा रहेका सुन्तालाको बोटबाट करिब ४० लाखभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको छ ।

कृषि विकास कार्यालयसँगै विभिन्न सेवाप्रदायक संस्थाबाट अपनाइएको आधुनिक प्रविधिको प्रयोग गरेर सुन्तलाको बगैँचा व्यवस्थापन, बिरुवा रोप्ने तरिका, तालिम, स्वादिलो फलका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमासमेत अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरिरहेका बास्कुनावासीले सुन्तलासँगै तरकारीखेती समेत गरिरहेका छन् ।

गाउँमा एकजना कृषकले न्युनतम ५० देखि ७०० सम्म सुन्तालाको बिरुवा रोपेका छन् । बास्कुनामा बोटबाटै ‘ए’ र ‘बि’ ग्रेडको सुन्तला जिल्ला बाहिर जाने गरेका छन् भने बेनी तथा आसपासका बजारमा समेत सुन्तलाखपत हुने गरेको छ । बास्कुनबाट सुन्तलासँगै दैनिक दूधसमेत निर्यात हुने गरेको छ ।

 

  • 92Read This News:
  • 459677Total reads:
  • 269182Total visitors: