भारत, २६ चैत २०७३ । भारत तथा बङ्गलादेशबीच शनिबार ढाका विकास परियोजनाका लागि सहुलियतसहित ४ अर्ब ५० करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बङ्गलादेशका उहाँका समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उहाँहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतङ्कवाद विरुद्ध सङ्घर्षका लागि सहयोगका विषयमा पनि छलफल गर्नुभएको बताइएको छ ।
दुबै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बङ्गलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ ।
दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ ।
भारतीय प्रधानमन्त्री मोदीले बङ्गलादेशी समकक्षी हसिनाले भारत–बङ्गलादेशबीच सम्बन्धको ‘‘स्वर्ण युग’’ मा भ्रमण गर्नुभएको र भारत बङ्गलोदशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताउनुभयो ।
भारत तथा बङ्गलादेशबीच ४ हजार १०० किलोमिटर लामो सीमा रहेको छ ।


