सुनसरीबाट भोजपुर निर्वाध जिप सञ्चालनको माग

सुनसरी, १४ चैत २०७३। सुनसरीबाट भोजपुरतर्फ जाने सार्वजनिक जिप गाडी निर्वाधरुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सुनसरी यातायात व्यवसायी सङ्घले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहतालाई ज्ञापनपत्र बुझाएको छ ।

आफूहरुले सञ्चालन गर्दै आएको सार्वजनिक जिप गाडी भोजपुरका बस व्यवसायीले अवरोध गरेका कारण निर्वाधरुपमा सञ्चालनको वातावरण मिलाइदिन ज्ञापनपत्रमार्फत माग गरेका छन् ।

व्यवसायीले विगत ५ महिनादेखि धरानबाट भोजपुर जाने सार्वजनिक जिप गाडीलाई धनकुटा–भोजपुरको सिमाना अरुण नदीको पुलमा नै भोजपुरका बस व्यवसायीले रोकेर यात्रुमाथि दुव्र्यवहार गर्ने, गाडी चालकबाट पैसा लुट्ने, धम्की दिनेलगायतका कार्य गरेका कारण सवारीसाधन चलाउन सक्ने अवस्था नभएकाले शान्ति सुरक्षाको व्यवस्थाका साथै निर्वाधरुपमा सार्वजनिक सवारीसाधन सञ्चालनको वातावरण मिलाइदिन माग गरेका छन् ।

उनीहरुले राज्यमन्त्री मेहतालाई ज्ञापनपत्र बुझाउँदै आफूको माग सुनुवाइ नभए कडा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । व्यवसायीले भोजपुरका बस व्यवसायी जस्तै आफूहरुले पनि राज्यलाई कर तिरेका कारण आफूहरुको समेत सवारी सञ्चालन हुनुपर्ने सुनसरी यातायात व्यवसाय सङ्घर्ष समितिका संयोजक अमृत भुजेलले बताउनुभयो ।

गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र जिल्ला प्रशासन कार्यालय भोजपुरमा शान्ति सुरक्षाको माग गर्दै समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएका कारण आफूहरुले राज्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन बाध्य भएको सङ्घका अध्यक्ष रामबहादुर परियारले बताउनुभयो ।

यता ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री मेहताले समस्या समाधानका लागि भोजपुरका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएकाले समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको छ ।

 

  • 83Read This News:
  • 480751Total reads:
  • 288207Total visitors: