अमेरिका, ७ चैत २०७३ । ९० वर्षिय अमेरिकी प्रसिद्ध सङ्गीतकर्मी तथा ‘रक एन्ड रोल’ का पिता चाल्र्स एडवार्ड एन्डरसन बेरी सिनियर (चकबेरी) को सेन्ट लुइस, मिसोउरीस्थित आफ्नै घरमा शनिबार मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
सेन्ट चाल्र्स काउन्टी प्रहरी विभागले चकबेरी को मृत्यु भएको खबर आफ्नो फेसबुक पेजमा जनाएको छ ।
बेरीको मृत्युको खबर बाहिर ल्याउने एक प्रत्यक्षदर्शीले आफू शनिबार दिउँसो उहाँलाई भेट्दा उहाँले प्रतिक्रिया नजनाउनु भएको थियो ।
त्यसपछि उहाँका निकट सहयोगीले उहाँलाई होसमा ल्याउन गरेका कुनै पनि प्रयास सफल बन्न सकेनन् र अन्तत उहाँलाई दिउँसो १ बजेर २६ मिनेट जाँदा मृत घोषणा गरियो, प्रहरीले भनेको छ ।
सन् १९५० को दशकमा पहिलो प्रसिद्ध अमेरिकी गितारबादक र गीतकारका रुपमा उदाएका बेरी रक एन्ड रोल सङ्गीतअन्तर्गत ‘जोनी वि गुड’, ‘स्वीट लिटल सिक्सटिन’ र ‘रोल ओभर विथोवन’ जस्ता विश्व प्रसिद्ध गीतका लेखक तथा गायक हुन ।


