एक वर्षमा ३३ लाखको चिज बिक्री

म्याग्दी, १३ फागुन २०७३ । घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा रु ३३ लाखको चिज बिक्री गरेको छ ।

हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघ महिनासम्म ४ हजार ४०० किलो चिज बिक्री गरेको हो । प्रतिकिलो रु ७५० का दरले चिज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिनुभयो ।

सो अवधिमा उद्योगमा दूध बिक्री गर्ने कृषकले रु ३० लाख भुक्तानी पाएका छन् । विसं २०७१ वैशाखदेखि सञ्चालित उक्त उद्योगले स्थानीय कृषकले उत्पादन गर्ने दूध खपत गर्दै आएको छ । हाल ४५ कृषकले दैनिक १ सय लिटर दूध उद्योगलाई बिक्री गर्दैआएका छन् ।

कृषकबाट गुणस्तर अनुसार प्रतिलिटर रु ५० देखि रु ५५ का दरले दूध खरिद गरिन्छ । दूध बेचेर एकजना कृषकले मासिक रु ५ हजारदेखि रु २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । सो उद्योगले मासिक ३० किलो घ्यू समेत उत्पादन गर्दै आएको छ ।

सो उद्योगमा उत्पादित चिज पर्यटकीयस्थल घोडेपानी, तातोपानी, कास्कीको टाडापानी, पोखरा र मुस्ताङको जोमसोममा खपत हुने गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेकाले उत्पादित चिज नष्ट गर्नुपर्दा निराश भएका कृषक यस वर्ष माग बढेपछि उत्साहित बनेका छन् ।

 

  • 58Read This News:
  • 450147Total reads:
  • 261522Total visitors: