बागलुङ, २५ माघ २०७३। फुटबलको सानो रुप ‘फुटसल’ खेल बागलुङमा पनि सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति र पत्रकार महासङ्घ बागलुङ शाखाबीच सोमबार मैत्रीपूर्ण खेल आयोजना गरी फुटसलको सुरुवात गरिएको हो ।
कोठाभित्र (इनडोर) खेलिने फुटसल रसआवर फुटसल प्रालिले बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा ल्याएको हो । फुटसल मैदान बनाउन रु १ करोड २० लाख लगानी भएको प्रालिका राजु केसीले बताउनुभयो ।
“धवलागिरि अञ्चलमै पहिलोपटक बागलुङमा फुटसल खेल सुरु भएको छ”, केसीले भन्नुभयो – “फुटसलले खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने हाम्रो विश्वास छ ।” केसीसहित ४ युवा मिलेर फुटसलमा लगानी गरेका हुन् ।
खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन, खेल पर्यटनका लागि पनि फुटसल प्रभावकारी हुने भएकाले यो खेलसुंगै रेष्टुराँ र स्नुकर हाउस पनि खोल्ने तयारी रहेको केसीले जानकारी दिनुभयो । फुटसल दैनिक बिहान ५ देखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ । केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रदीप शर्माले मासिक ३३ हजार भाडा दिने गरी २ रोपनी जग्गा भडामा लिएर फुटसल मैदान निर्माण गरेका हुन् ।
फुटसल खेल्ने समूहले बिहान र बेलुकाको समयमा प्रतिघन्टा रु १ हजार ५०० तिनुपर्ने तर दिउँसोको समयमा भने प्रतिघन्टा रु १ हजार ३०० तिनुपर्ने व्यवस्था छ ।
नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल सहरी युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।


