नेपाल वायुसेवाले वार्षिक कम्तिमा एक वटा विमान थप गर्ने

काठमाडौँ, २४ माघ २०७३। नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ ।

एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्दै जाने योजना लिएको बताउनुभयो ।

निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।

निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ । उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ । वाइडबडी नेपाल भित्रिएपछि निगमको व्यावसायिक योजनाअनुसार दमाम, सिओल, सिड्नी, टोकियोजस्ता नयाँ गन्तव्यमा उडान भरिनेछ ।

नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।

वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका १ हजार ४०० कर्मचारी ढुक्क रहेको बताउँदै उहाँले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाउनुभयो ।

राम्रो सामान सस्तो मूल्यमा पाएका छौँ, विमान आएपछि जापान, कोरिया र लण्डनजस्ता व्यावसायिक दृष्टिले राम्रा मार्गमा उडान भरिने जनाउँदै निगमले आगामी छ महिनादेखि एक वर्षभित्रमा नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली मुलुकले राखेको कालो सूचीबाट माथि उठाउने अठोट गरेको छ ।

पर्यटकको खानी भनेको युरोपजस्ता विकसित र पैसावाल घुम्ने क्षेत्र भएको हुँदा निगमको ध्यान त्यसतर्फ केन्द्रित रहेको बताउँदै महाप्रबन्धकले भन्नुभयो, “पारदर्शी र सार्वजनिक खरिद ऐनको पूर्णरुपमा पालना गरेर अघि बढाएको खरिद प्रक्रियामा प्रश्न उठाउनुको कुनै औचित्य देखिँदैन ।”

२ सय ८० सिट क्षमताको उक्त विमानमा १६ वटा सिट विजनेस क्लास रहने जनाइएको छ । निगमले आफूसँग भएका ७५७ बोइङलाई भने विस्तारै विस्थापन गर्ने प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । मुलुकमा रहेका ३८ वटा संस्थानमध्ये निगम अझै पनि केही अग्रपङ्क्तिको सूचीमै रहेको दाबी गरेको छ ।

निगमले चीन सरकारले उपलब्ध गराउने सबै विमान ल्याएर मुलुकका २० भन्दाबढी विमानस्थलमा उडान भर्ने जनाएको छ । चीन सरकारले उपलब्ध गराउनेसहित निगमका आन्तरिक उडानमा ९ वटाले उडान भर्ने छन् भने निगमका २ वटा बोइङ र यसअघि खरिद गरेका २ वटा एयर बसले उडान भर्दै आएका छन् ।

 

  • 50Read This News:
  • 474144Total reads:
  • 282536Total visitors: