झापा, २४ माघ २०७३ । मनाङ्ग मस्र्याङदी क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । झापाको विर्तामोड स्थित डोमालाल रङ्गशालामा सोमबार सम्पन्न फाईनलमा मनाङ्ग मस्र्याङदि क्लबले आयोजक झापा ११ फुटबल क्लबलाई १/० गोल अन्तरले पराजित गरेको छ । फाईनल खेलमा एक मात्र निर्णायक गोल मनाङ्ग मस्र्याङदी क्लबका नाईजेरियाली खेलाडी ओलडियो वलावाले अफिजले खेलको ६३ औँ मिनेटमा गरेका थिए । यो विजय संगै मनाङ्ग मस्र्याङदी क्लबले यस वर्षका ३ मुख्य प्रतियोगिताको उपाधि हात पारेको छ ।
मनाङ्गले खप्तड गोल्ड कप, आहा रारा गोल्ड कप र यस झापा गोल्ड कपमा लागातार जित हात पार्न सफल भएको हो । झापा ११ फुटबल क्लब भने यस भन्दा अघिको झापा गोल्ड कपको पहिलो संस्करणमा पनि उप विजेतामा सिमित भएको थियो ।
प्रतियोगितामा प्रथम हुँदै मनाङ्ग मस्र्याङदी क्लबले ७ लाख र दोस्रो भएको झापा ११ फुटबल क्लबले ३ लाख ५० हजार रुपैँया प्राप्त गरेका छन् । फाईनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै मनाङ्ग मस्र्याङदी क्लबका निराजन मल्लले ७ हजार रुपैँया प्राप्त गरेको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका मनाङ्ग मस्र्याङदी क्लबका रोहित चन्दले एउटा मोटर साईकल प्राप्त गरेको छ । झापाका गोलकिपर अलान न्यौपाने, डिफेन्डर देवेन्द्र तामाङ्ग र मिड्फिल्डर रन्जित श्रेष्ठ आफ्नो स्थानका उत्कृष्ट घोषित भएका थिए भने फवर्डमा मनाङ्ग मस्र्याङदी क्लबका निराजन मल्ल र प्रशिशकमा मनाङ्गकै छिरिङ्ग लोपसाङ्ग उत्कृष्ट घोषित भएका छ ।
सबै उत्कृष्ट घोषित भएकाहरुले समान १५ हजार रुपैँया प्राप्त गरेका छन ।
परेश सापकोटा


