१६ वटा मुलुकमा नेपाली वस्तु प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने

काठमाडौँ, २४ माघ २०७३ । काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकका १६ वटा सहरमा नेपाली वस्तुका बिक्री प्रवद्र्धनलाई प्रोत्साहन गर्न छुट्टै प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाण्डौमा आज आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितिमा उद्योग मन्त्रालयका तर्फबाट सहसचिव दिनेश घिमिरेले र काठमाडौँ महानगरपालिकाका तर्पmबाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले हस्ताक्षर गर्नुभयो ।

सहमतिअनुसार काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायत मुलुकका विभिन्न सहरमा महानगरपालिकाले नेपाली वस्तुको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री प्रवद्र्धन कक्ष सञ्चालनमा ल्याउनेछ । यसबाट नेपाली वस्तुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगको विकास र विस्तारमा टेवा पुग्नेछ ।

सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले राष्ट्रिय स्वार्थमा एकअर्का संस्थाको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्देश्यका साथ उद्योग मन्त्रालयले यसप्रकारको कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरपालिकाको विश्वका १६ वटा सहरसँग भगिनी सम्बन्ध कायम रहेको र निकट भविष्यमा थप २० वटा सहरसँग भगिनी सम्बन्ध कायम हुने क्रममा रहेको जानकारी दिनुभयो ।

 

  • 44Read This News:
  • 480520Total reads:
  • 287989Total visitors: