ग्याम्बियाका प्रमुख निर्वाचन आयुक्त निर्वासनमा जान बाध्य

सिनेगल, २१ पुस २०७३ । ग्याम्बियामा गत महिना सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धेरै लामो अवधिसम्म मुलुकको शासन चलाएका राष्ट्रपति याह्या जामेले पराजय भोग्नु परेको छ ।

नव निर्वाचित राष्ट्रपति आदामा ब्यारोको विजय र जामेको पराजय भएको औपचारिक घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त अलिउ मोमार निजाइलाई भने देश छाडी पलायन हुनुपर्ने बाध्यता आइलागेको छ ।

प्रमुख निर्वाचन आयुक्त निजाइका आफन्तहरूका अनुसार आफ्नो पराजयबाट आक्रोशित राष्ट्रपति जामे र उनका समर्थकहरूले ज्यानै लिनेसम्मको आक्रमण गर्ने भनी लगातार धम्की दिएकाले त्रस्त भै उहाँ स्वदेशबाट पलायन भै निर्वासनमा जान बाध्य हुनुभएको हो ।

हाल उहाँ सिनेगल गई शरणार्थी जीवन बिताउनु भै रहेको भन्दै प्रमुख आयुक्त निजाइका परिवारजनले एसोसिएटेड प्रेसलाई बताएका छन् ।

नव निर्वाचित राष्ट्रपति आदामा ब्यारो र निवर्तमान राष्ट्रपति याह्या जामेबीच गहिरो राजनीतिक मतभेद रहेका कारण यी दुईबीचको अन्तरद्वन्द्वबाट उत्पन्न पहिलो निशानामा प्रमुख निर्वाचन आयुक्त निजाइ पर्नुभएकोे बताइन्छ ।

लगातार २२ वर्षभन्दा बढीसम्म ग्याम्बियाको शासन सत्ता चलाउनु भएका राष्ट्रपति जामेले गत महिना सम्पन्न निर्वाचनमा आफ्नो पराजय भएको सुरुसुरुमा स्वीकार गर्नु भए ता पनि सत्तामोह त्याग गर्न नसक्दा पछि गएर लगत्तै मन परिवर्तन गरी पद नछोड्ने अडान लिनुभएको छ ।

जामेले निर्वाचन र मतगणना परिणाममा धाँधली गरी आफूलाई हराइएको भन्ने आरोप लगाउनु भएको छ । साथै, उहाँको पार्टीले निर्वाचन परिणामविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

यसैबीच, नवनिर्वाचित राष्ट्रपति ब्यारोले आगामी १९ जनवरीका दिनदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्ने योजना रहेको बताउनुभएको छ ।

ग्याम्बियाका राजनीतिक ज्ञाताहरूका अनुसार निवर्तमान राष्ट्रपति जामेको बिरोध गर्ने हजारौँ नागरिक उनको २२ वर्षे शासनकालमा देश छाडी भाग्न बाध्य भएका थिए ।

त्यसैगरी सयौँ नागरिकलाई कारागारमा कोची चरम यातना दिने वा कतिपयलाई जेलमै मारिदिनेसम्मका जघन्य अपराधका घटना भएका छन् ।

 

  • 35Read This News:
  • 474436Total reads:
  • 282727Total visitors: