चितवनमा २४ घण्टा कर्फ्यू

साचारः सहयात्री खवर

चितवन । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।

मंगलबार बेलुका ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् । कर्फ्यू लागेका बेला सडकमा लामो दूरीका सवारी साधन चल्न दिने तर मानिसहरु आवतजावत र भेला हुन रोक लगाइएको छ ।

भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार पनि प्रहरीसँग झडप भएको थियो ।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गरेका थिए । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

राजमार्ग क्षेत्रमा प्रदर्शन बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यूको लगाएको हो ।

प्रर्दशनकारीले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन ।

 

  • 196418Total reads: