निपुण विचार, दीगो उपाय मूल नाराका साथ सुरुभएको केसीसी एक्जिबिट २०१९ को माननीय युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले समुद्घाटन गर्नुभएको छ । सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी प्रदर्शनी, २ वटा गेमस्टल, ४ वटा खाजा स्टलसहित केसीसी एक्जिबिट २०१९ सुरुभएको छ ।
शुक्रबार बिहान केसीसी एक्जिबिट २०१९ समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री सुनारले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताउनुभयो । सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने उहाँले जोड दिनुभयो । उहाँले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेपनि बताउनुभयो ।
प्राध्यापक रामकृष्ण रेग्मीले यस प्रदर्शनीलाई दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताउनुभयो । उहाँले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गर्नुभयो । सूचना–प्रविधिमार्फत् सशक्तिकरण गर्दै यस्तो उपायगर्न सकिने उहाँको दाबी छ ।
नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोको लागिमात्रनभई दीगोपनका लागि समेत प्रयोग गर्न आह्वान गर्नुभयो । यसैगरी पूर्व मन्त्री गणेश शाहले दीगो विकासकालक्ष्यलाई सम्बोधन गर्न नयाँपनचाहिने बताउनुभयो ।
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमक सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कलेजका प्रिन्सिपल राजु कट्टेलले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमका संयोजक कुशल निरौलाले कार्यक्रमबारे प्रकाश राख्दै यसलाई मनोरञ्जन र ज्ञानको सम्मिश्रणका रूपमा चित्रण गर्नुभएको छ ।


