महिला सांसदबारे पुस्तिका प्रकाशन

काठमाडौँ, १४ चैत २०७५ । ‘सङ्कल्प नेपाल’ सामाजिक संस्थाले ‘हाम्रो महिला प्रतिनिधि २०७५’ पुस्तिका प्रकाशन गरेको छ । सङ्घ र प्रदेशका महिला सांसदबारे विवरण सङ्कलन गरिएको उक्त पुस्तिका प्रकाशनकालागि युथ इनोभेसन ल्याबले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिनिधिसभाका ९०, राष्ट्रियसभाका २२ र प्रदेशसभा १८९ गरी जम्मा ३०१ महिला सांसदको नाम, उमेर, राजनीतिक दल, शैक्षिक योग्यतालगायत पारिवारिक विवरण सो पुस्तकमा समेटिएको छ ।

बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पुस्तिकाको विमोचन गर्दै महिला सशक्तीकरण, अधिकारप्राप्ति, समृद्धिका विषमा सबैका साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो । यस किसिमको अभिलेखले प्रतिनिधि छनोटमा सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले संविधानमा समावेशीको व्यवस्था गरिएको भए पनि जनसङ्ख्यका अनुपातमा सबैको समावेशी प्रतिनिधित्व हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

सङ्कल्प नेपालका अध्यक्ष लिली थापाले महिला वर्गको अधिकारका लागि विगतमा सङ्घर्ष गरेका महिला नै जनप्रतिनिधि भएकामा खुशी व्यक्त गर्दै त्यस्ता महिला प्रतिनिधिको यथार्थ सूचना जनतालाई उपलब्ध गराउने उद्देश्यले विगत एक वर्षदेखि आवश्यक विवरण खोज अनुसन्धान गरी पुस्तिका प्रकाशन गरिएको बताउनुभयो । आगामी दिनमा सातै प्रदेशअन्तर्गतका सबै स्थानीय तहका महिला प्रतिनिधिको विवरण प्रकाशन गरिने जनाइएको छ ।

रासस

 

  • 51Read This News:
  • 479911Total reads:
  • 287462Total visitors: