तनहुँ, २७ मङ्सिर २०७५ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
नगरपालिकाले चालू आवमा रु ५ करोड ४ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु ८ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म रु ८ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आन्तरिक उत्पादन करबाट रु ३ करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु २ करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु १ करोड २१ लाख सङ्कलन भएको छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताउनुभयो । “गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।
नगरपालिकाले गत आवमा रु ६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।


