कञ्चनपुर, २८ असोज २०७५ । नजिकिदै गरेको दशैं, तिहारजस्ता चाडपर्व मनाउनका लागि मजदुरी गरेर घर फर्किने नेपालीहरू पश्चिमी सिमानाका गड्डाचौकीमा ठगिने गरेको गुनासो आएपछि स्थानीय प्रशासनले शनिवार नेपाल–भारत सिमा क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सशस्त्र प्रहरी ३५ नम्बर गण मुख्यालयका गणपति विनोदराज श्रेष्ठलगायत अधिकारीले गड्डाचौकी र शारदा व्यारेजदेखि भारतीय कष्टमसम्म अनुगमन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले चाडपर्वका बेला सिमाक्षेत्रको सुरक्षा सर्तकता बढाउने विषयमा भारतीय पक्षसँग सहमति भइसकेको बताउँदै भारतीय पक्षको समेत सहभागितामा अनुगमन गरिएको जानकारी दिनुभयो ।
‘वनवासापुल दैनिक सातघण्टा मात्रै खुल्ने भएकाले चाडपर्वका बेलायात्रुहरूको चापले गर्दा व्यवस्थापनमा समस्या हुन्छ’, उहाँले भन्नुभयो– ‘सिमामा हुने दुव्र्यहार र बढी रकम असुल्ने कार्यमाथि सुरक्षाकर्मीले निगरानी बढाएका छन ।”
यात्रुहरू सहजरुपमा गन्तव्यमा पुगुन भनेर सिमा क्षेत्रमा शसस्त्र प्रहरी र एसएसबीको संयुक्त यात्रु सहायताकक्ष समेत स्थापना गरिएको छ ।
‘अनुगमनका क्रममा यात्रुहरूलाई पनि सोधपुछ गर्दा यात्रामा असहजता भएको देखिएन”, प्रजिअ अधिकारीले भन्नुभयो–‘यस विषयमा भारतीय एसएसबी र कष्टमका कर्मचारीसँग पनि छलफल गरिएको छ ।”


