बनेपा, २८ असोज २०७५ । बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ ।
बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा शनिवार भएको अन्तिम खेलमा वडा नं. १३ ले वडा नंं १४ लाई शून्यका विरुद्ध ६ गोलअन्तर गरी विजयी भएको हो ।
गत १९ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता थियो । १४ वटा वडा रहेको बनेपा नगरपालिकाको प्रत्येक वडाबाट १/१वटा समूह र वडा नं. ५ र ८बाट २/२ वटा समूहको सहभागिता रहेको संयोजन समितिले जनाएको छ ।
सो प्रतियोगितामा प्रथम हुने समूहले रु ५० हजारसहित शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो हुने समूहले रु ३० हजारसहित शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेतालाई बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।


