खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, ७ भाद्र २०७५ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न मिल्दैन ।” विश्वकर्मा बुधबार ढिला अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण आजका लागि अदालतमा उपस्थित हुन भनिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार बुधबार विश्वकर्मा अदालतमा उपस्थित हुनुभएको थियोे ।

गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गर्नुभएको थियो । विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनःविश्वकर्मा पक्राउ पर्नुभएको थियो । विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो ।

 

  • 39Read This News:
  • 404764Total reads:
  • 218223Total visitors: