सप्तरी, २३ चैत २०७४ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले कृषि, पानी र शिक्षा क्षेत्रको विकासका लागि अष्ट्रेलिया सरकारले विगत ५० वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको बताउनुभएको छ ।
सप्तकोशी नगरपालिका–४ बलार्दमा सोलर पम्पको मोबाइलबाट स्विच थिची आज उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रको विकास र साना लघु उद्योगको क्षमता वृद्धि गर्नमा अष्ट्रेलिया सरकारको सहयोग जारी रहने बताउनुभयो ।
राजदूत बडले आगामी दिनमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहयोग गर्ने पनि बताउनुभयो ।
(आइसिआइएमओडी) र अष्ट्रेलिया सरकारको संयक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प वितरण गरिएको छ ।
सौय ऊर्जाबाट सञ्चालित उक्त पम्पको लागत रु ३ लाख ५० हजारमध्ये महिलालाई ७ं० र पुरुषलाई ६० प्रतिशत अनुदान दिने गरिएको छ ।
दैनिक ८ देखि १० घण्टा सञ्चालन गर्न सकिने उक्त पम्पबाट प्रतिसेकेण्ड १.५ लिटर पानी आउने र सञ्चालन गर्न न्यून खर्च लाग्ने बताइएको छ ।
उक्त पम्पले तरकारी खेती, नगदेबाली, अन्नबालीलगायत अन्य बाली लगाउन किसानलाई उपयुक्त रहेको र व्यावसायिक खेतीका लागि पनि सहयोगी हुने विश्वास कृषकको छ ।
सो अवसरमा केन्द्रका निर्देशक वसन्त श्रेष्ठले कृषकलाई चाहेको बेला सिँचाइ सुविधा उपलब्ध हुने हुनाले आधनिक कृषि खेतीमा सहयोग पुगी जीवनस्तर उकास्ने बताउनुभयो ।
सिँचाइ विभागका उपनिर्देशक चन्द्र ओलीले मुलुकको सम्पूर्ण खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउन सरकारको लक्ष्य रहेको उल्लेख गर्दै भूमिगत पानीको अधिकतम प्रयोग भइरहेकाले यसबाट चुरेक्षेत्रको वातावरण संरक्षणमा पार्ने प्रभावप्रति ध्यानदिन सबैमा आग्रह गर्नुभयो ।
सप्तकोशी नगरपालिकाका अध्यक्ष अनन्त गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
सोह अवसरमा राजदूत बड र एनएमबी बैंकका मुख्य अधिकृत सुनील केसी रु ८ लाख मूल्य बराबरको ११ किसिमका बेमौसमी तरकारीका बीउ १२३ जना किसानलाई वितरण गर्नुभयो ।


