कैलाली, २३ चैत २०७४ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ ।
काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई ५ विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंँले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो ।
काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा ४ छक्का र ५ चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले २ छक्का र ३ चौका हाने । सन्नी पटेलले ३ छक्का र १ चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका वसन्त रेग्मीले दुई तथा कप्तान पारस खड्का, सुभम कामत र मञ्जित श्रेष्ठले १/१ विकेट लिए ।
यसअघि विराटनगरका लागि बाबर हायतले ३३ बलमा ७ छक्का र ३ चौका सहित ६७ रन बनाए । दिलीप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र वसन्त रेग्मीले १०/१० रन बनाए ।
बलिङतर्फ काठमाडौँं गोल्डेन्सका लागि ललित राजवंशीले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चे । रसिद खानले २ तथा सुबोथ भाटीले १ विकेट लिए ।


