बस पल्टिँदा १३ जना घाइते/कारको ठक्करबाट वृद्धाको मृत्यु

सप्तरी, ६ असार २०७४। राजविराज–रुपनी सडक खण्डअन्तर्गत सप्तरीको राजविराज रुपनीरोडमा सोमवार यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी बसमा सवार सप्तरी नेगडा–३ बस्ने ३५ वर्षीय फूलकुमार यादव, सोही ठाउँका ५७ वर्षीय नथुनी यादव, मौवाहा बेल्ही–२ बस्ने अन्दाजी ५२ वर्षीय सहदेव यादव, सोही नगरपालिकाका २५ वर्षीय किरण झा, ६५ वर्षीय हरिनारायण यादव, ३७ वर्षीय सुदीप कापर, ३० वर्षीय मङ्गल कापरलगायत १३ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

घाइते सबैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४२२५ नंको बस अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएको थियो ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–४ अमाहामा भारतीय कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बिआर ३८ पि १९४८ नंको कार अनियन्त्रित भई सडक छेउदेखि उत्तरपट्टि रहेको दिलसन मियाँको घरमा ठोकिँदा सो घरमा बसेकी उनकै ६० वर्षीया श्रीमती डोमी खातुनको मृत्यु भएको छ ।

सो ठक्करबाट गम्भीर घाइते भएकी खातुनको उपचारका लागि लहानस्थित सप्तऋषी अस्पताल लगिए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

  • 84Read This News:
  • 480737Total reads:
  • 288193Total visitors: