काठमाडौँ, ६ फागुन २०७४ । साहित्य विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएकी शान्ति शर्माको पहिलो कृति ‘अम्लान फूल’ (गजल संग्रह) बजारमा आएको छ ।
उक्त कृति शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले विमोचन गर्नुभएको थियो ।
सो अवसरमा गजलकार पौडेलले “शान्तिले आफ्ना प्रायः गजलहरुमा आफ्नो जीवन भोगाइका अनुभूतिलाई काव्यात्मक र कलात्मक अभिव्यक्तिसहित गीतिमय छनक दिएको पाइन्छ र राम्रो स्रष्टा कहलिन क्लिष्ट र दुर्वोध्य भाषामा लेख्नु पर्दैन” भन्दै गजलकारको सरल लेखन शैलीको प्रशंसा गर्नुभयो ।
कृतिको समीक्षा गर्दै प्रा.डा.सनत वस्तीले शान्तिका हरेक गजल सरल, सरस र बोधगम्य रहेकाले पाठकका लागि गतिलो खुराक बन्ने बताउनुभयो ।
आफ्ना गजललाई सुन्दर लयका साथ गाउन पनि सक्ने शान्तिले आगामी दिनमा गजल र मुक्तक लेखनका साथसाथै आख्यान लेखनतिरसमेत आफ्नो कलम सक्रिय रुपमा चलाउने उहाँहरुले बताउनुभयो ।
सोलुखुम्बुको नेचा सल्यानमा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउनुभएकी शर्माले कथा, कविता मुक्तक, गजल, संस्मरणलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका यस अगाडि नै थुप्रै फुटकर रचना प्रकाशित भएका छन् ।


