सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

सोलुखुम्बु, ५ फागुन २०७४ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादव खड्काले जानकारी दिनुभयो । घरमा लागेको आगो जंगलमा सल्कँदा ७ हजार वर्गमिटर वन क्षेत्र डढेको थियो ।

आगोका कारण निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने दूधकुण्ड सामुदायिक वन, चौँरीखर्क मध्यवर्ती क्षेत्रसहित वन जलेर नष्ट भएको उहाँले बताउनुभयो । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीको निरन्तरको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको बताइएको छ । प्रनानि खड्काले भन्नुभयो, “डढेलोका कारण के–कति वन्यजन्तुमा क्षति पुग्यो भन्ने विवरण भने आएको छैन ।”

बिहीबार अपराह्न १ः१५ बजे काल्देनवाङ्छु शेर्पाका घरमा आगलागी हुँदा घर नजिकै रहेको वनमा आगो सल्किएको थियो । आगलागीका समयमा हावा चल्नाका साथै नियन्त्रण गर्ने साधन नहुँदा अन्यत्र फैलिएको प्रहरीको भनाइ छ । आगलागीका कारण शेर्पाको पूरै घर र घरमा रहेको १० तोला सुन, काँस, तामालगायतका सबै सामग्री जलेर नष्ट हुँदा करीव रु डेढ करोड बराबरको क्षति भएको प्रहरी नायब निरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

  • 58Read This News:
  • 474258Total reads:
  • 282593Total visitors: