उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने, सम्वन्ध सुधारको संकेत

File Photo

दक्षिण कोरिया, २३ माघ २०७४ ।उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ ।

यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो ।

उत्तर कोरियाले यहाँको संसदका प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिका रुपमा त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाली संसदका प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमणगर्ने सबैभन्दा उच्च पदस्थ उत्तर कोरियाली सरकारी अधिकारी हुनुहुने बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसका एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन्

उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वगर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले उहाँको भ्रमणको पुष्टी गरेको बताइएको छ ।

किम यङ–नामको नेतृत्वको उक्त टोलीमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रवारदेखि सुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर पनि उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयलाई आइतबार राति जानकारी दिएको दक्षिण कोरियाको एकता मन्त्रालयका एकजना अधिकारीले बताएका छन् ।

त्यसैगरी यस अघि नै शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले पनि एउटै झण्डामुनि ’मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ । उसले बिगत लामो समयदेखि नै दवाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

यसैबीच दुवै कोरियाका तर्फबाट महिलातर्फको संयुक्त आइस हकी खेलको टोलीले पहिलो खेल आइतवार मात्र खेलेको थियो । स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा उक्त टोली पराजित भएको थियो ।

 

  • 29Read This News:
  • 459615Total reads:
  • 269121Total visitors: