काठमाडौँ, १९ माघ २०७४ । चारुमती बुद्धिष्ट मिसन नेपालले भोली काठमाडौँको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गर्ने भएको छ ।
उक्त मिसनले स्वयम्भूबाट नमोबुद्धसम्म बुद्ध पथ (सर्किट) निर्माण गर्न सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले उक्त यात्रा गर्न लागेको हो ।
गत विहिवार आयोजित पत्रकार सम्मेलनमा बुद्ध जन्मेको देश नेपालमा बौद्ध सम्पदा, शिक्षा र साहित्यको प्रवद्र्धन हुन नसकेको अवस्थामा उक्त यात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र विश्व साइकल यात्री पुस्कर शाहले यस किसिमको यात्राले बुद्धको शान्ति र अहिंसाका सन्देशलाई विश्वमा फैलाउन सहयोग पुग्ने बताउनुभयो ।
वल्र्ड साइकल टुर क्याम्पेन नेपालको सहयोगमा हुने उक्त यात्रामा २०० जना साइकल यात्री सहभागी हुनेछन् ।
भौगोलिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण रहेको नमोबुद्ध क्षेत्रमा धार्मिक पर्यटक आकर्षित गर्न बुद्ध पथ निर्माणका लागि सो यात्रा महत्वपूर्ण हुने बताइएको छ ।
उक्त संस्थाले आगामी दिनमा पनौतीबाट नमोबुद्ध क्षेत्रमा ‘विश्व सांस्कृतिक शान्ति पदयात्रा’ को तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइयो ।


