देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

काठमाडौँ, ३ माघ २०७४ । देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ ।

मिडिया इन्टर्नलद्वारा आज यहाँ आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिनुभयो ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा वित्तीय तथा गैर वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा संस्थाको महत्व रहेको भए पनि सर्वसाधारणमा पहुँच विस्तार गर्न नसकिएकाले ‘एक घर एक बीमा’ नीति ल्याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

बैंकर्स एशोसिएशनका अध्यक्ष भरतराज ढकालले मुलुकको ग्रामीण क्षेत्रमा विप्रेषण र ग्रामीण सडकका कारण उत्पादनको भन्दा उपभोगको अनुपात बढेकाले त्यहाँको अर्थतन्त्र खस्केको विचार व्यक्त गर्नुभयो ।

पहलो लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले देशभर ५५ लघु वित्त सञ्चालनको क्रममा रहेको बताउँदै यिनका माध्यमबाट अहिले मुलुकमा रु ३४ अर्ब निक्षेप संकलन भएको बताउनुभयो ।

रिलायन्स लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मुलुकमा भएका विभिन्न वित्तीय संस्थाले गर्ने पूँजी संकलन र कर्जा प्रवाहजस्ता वित्तीय गतिविधिले देशको अर्थतन्त्रलाई गतिशील बनाउने बताउँदै यसबारे सर्वसाधारणमा वचत तथा लगानीका बारे चेतना फैलाउन खाँचो औँल्याउनुभयो ।

उक्त कार्यक्रममा यही माघ १९ र २० गते ‘बैकिङ एक्सपो’ गर्नेबारे जानकारी गराइएको थियो ।

 

  • 36Read This News:
  • 441195Total reads:
  • 253070Total visitors: