भत्ताको रकम जोगाएर नर्सरी तयार गर्न खर्च गर्ने निर्णय

कञ्चनपुर, २० पुस २०७४ । लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङ्गता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन् ।

समावेशी योजना छनोट गर्नका लागि एनएलआर नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको समन्वयमा गाउँपालिकाले आयोजना गरेको गोष्ठीका सहभागीले भत्ताको रकम विपन्न वर्गका समुदायलाई आर्थिक कार्यमा सहभागी गराउनका लागि उपलब्ध गराएका हुन् । सहयोगी संस्थाले गोष्ठीमा सहभागीलाई दुई दिनको रु एक हजारका दरले भत्ताको रकम उपलब्ध गराएको थियो ।

गोष्ठीकै सहभागीले भत्ताको रकमबाट गाउँपालिकामा केही कार्य गरेर देखाउनुपर्ने आवाज उठाएपछि सहभागीले भत्ताको रकम जम्मा गरेको कृषि शाखाका प्रमुख एकराज वलीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मदनसेन वडायकले भत्ताको पूरै रकम सामाजिक हितका लागि योगदान दिने घोषणा गरेपछि सहभागीमध्ये अधिकांशले भत्ता नलिएको उहाँले बताउनुभयो । “भत्ताबाट संकलित रु १२ हजारले प्लास्टिक टनेल बनाई बेमौसमी तरकारीको नर्सरी तयार गरी किसानलाई बेर्ना उपलब्ध गराउने निर्णय प्राविधिक समितिले गरेको छ”, उहाँले भन्नुभयो ।

भत्ताको रकममा कृषि शाखाको केही रकम थपेर नर्सरी तयार गरी किसानलाई उन्नत जातका बेमौसमी तरकारीका बिरुवा उपलब्ध गराई तरकारी खेतीतर्फ आकर्षण बढाउने उहाँको भनाइ रहेको छ । बेमौसमी तरकारीको नर्सरी कसरी तयार गर्ने र खेतमा रोपेर आम्दानी लिने तरिकाबारे किसानलाई तालिमसमेत दिने योजना कृषि शाखाको रहेको छ ।

“भत्ताको रकम नलिएर समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश यस गोष्ठीका माध्यमबाट दिन खोेजेका छौँ”, गाउँपालिका अध्यक्ष वडायकले भन्नुभयो, “समाजमा पछाडि परेका समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस्ता कार्यले सहयोग पु¥याउँछ ।”

भत्ताको रकम सामाजिक कार्यका लागि खर्च गर्ने जिल्लामै पहिलो कार्य भएको गोष्ठीका सहभागी राजीव अवस्थीले बताउनुभयो । गाउँपालिकाको समावेशी योजना संकलन गर्नका लागि गोष्ठी आयोजना गरिएको थियो ।

 

  • 44Read This News:
  • 459408Total reads:
  • 268920Total visitors: