लोप हुँदै आरन व्यवसाय

पाल्पा, १९ पुस २०७४ । गाउँघरमा आरन व्यवसायबाट राम्रै जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुख्र्यौली पेशा अहिले हराउँदै गएको छ ।

युवा पुस्ताले चासो नदिँदा तथा गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय लोप हुँदै गएको छ ।

रामपुर नगरपालिका–५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर विकले पुरानो आरन व्यवसाय समुदायबाटै लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आरन व्यवसायलाई जसोतसो अहिलेसम्म पनि निरन्तरता दिँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “युवा पुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको छ ।” विकले सो व्यवसाय गर्न थालेको ४० वर्ष भयो । हिजोआज सबैले उक्त पेशा छाड्दै गए पनि उहाँ भने आफूले सकुन्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्नुहुन्छ ।

“घरमै बसेर एक महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरूले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै संकटमा पर्दै गएकामा दुःख लागेको छ”, उहाँले भन्नुभयो ।

विकले हातले कुँदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी, फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्नुहुन्छ । हातले कुँदेर बनाइएका कोदालो, बञ्चरो आकार हेरेर रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताउनुभयो ।

गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ । विकलाई सो व्यवसायमा छोराको राम्रो साथ मिलेको छ । छोरा कृष्ण आरन व्यवसायमा निकै सिपालु हुनुुहुन्छ ।

“केही समय विदेश बसेर घर फर्के, बुबाले आरन चलाउन नछाड्ने अठोट गरेपछि विदेश जान छाडेर बुबासँगै आरन व्यवसायमा लागेको छु”, उहाँले भन्नुभयो ।

यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकले झण्डै ४८ वर्षको समय आरन व्यवसाय गरेर बिताउनुभयो । उहाँले आफैँले गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरी लगायतका हातले कुँदेर बनाइएका तामाका सामग्री प्रतिकिलो रु एक हजार ८०० मा बिक्री गर्दै आउनुभएको छ ।

ज्यालादारीमा भने प्रतिकिलो रु एक हजार २०० मा तामाका सामग्री निर्माण गर्नुहुन्छ । उहाँले एक महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्नुहुन्छ । गाउँघरमा आरन चलाउने युवा कोही पनि छैनन् । विश्वकर्मा समुदायका पाकापुस्ता भने आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् ।

 

  • 34Read This News:
  • 417708Total reads:
  • 230461Total visitors: