श्रीलङ्का, ४ पुस २०७४ । श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ ।
देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
श्रीलङ्का निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको पत्रकारहरूलाई जानकारी दिनुभयो ।
उहाँले उम्मेदवारी दर्ताका लागि आउँदो डिसेम्बर २१ तारिखका दिनसम्म समय तोकिएको बताउनुभयो ।
स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ । त्यस बाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन् ।
श्रीलङ्कामा गाँउ तहमा ४ हजार ९१४ ओटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउहरुबाट ५ हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
सन् २०१५ मा भएको संसदीय निर्वाचन पछि अहिले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।


