भक्तपुर, २४ मंसिर २०७४ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार शशिजंग थापा भारी मतअन्तरले विजयी हुनुभएको छ ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका थापाले १९ हजार ५१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका अंगद खड्काले १० हजार ४०० मत पछाडि परेर ९ हजार ११५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईंले २ हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा (ख) मध्यपुरमा एमालेका राजेन्द्रमान श्रेष्ठले १२ हजार २५४ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका गणेशमान चक्रधरले ९ हजार ५९३ मत नेमकिपाका प्रेमजंग थापा श्रेष्ठले १ हजार ६९६ मत ल्याउनुभएको छ ।
प्रतिनिधिसभातर्फ भने क्षेत्र वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले ३० हजार ३८२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वसभामुख तथा नेपाली काँग्रेसका दमननाथ ढुंगानाले १६ हजार १९ मतले पछ्याउनुभएको छ ।
त्यसैगरि नेमकिपाका अनुराधा थापामगरले ४ हजार १२७ मत ल्याएर तेस्रो दलकारुपमा पछ्याउनुभएको छ ।
यस्तै भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ५ हजार ९५२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बाबुराजा जोशीले ५ हजार ७७३ मत र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मिलन सुवालले ५ हजार १३५ मतले पछ्याउनुभएको छ ।
त्यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ (क) मा मा एमालेका हरिशरण लामिछानेले ४ हजार ६१८ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाली काँग्रेसका जीवन खत्री ३ हजार २३३ र नेमकिपाका नीरज लबजुले ६७३ मतका साथ पछ्याउनुभएको छ ।


