राजपाका रेशमलाल चौधरीको अग्रता

कैलाली, २४ मंसिर २०७४ । कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली काँग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले ५ हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले ३ हजार ५९ र काँग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाउनुभएको छ । चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहनुभएको छ ।

उहाँले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गर्नुभएको थियो । यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली काँग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिइरहनुभएको छ ।

यता काँग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राख्नुभएको छ ।

शनिवार साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा काँग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा खसेको कूल मतको शनिवार साँझसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । झण्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा काँग्रेसका डिल्लीराज पन्त अगाडि रहनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा

यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतगणनामा काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहनुभएका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि पर्नुभएको छ ।

हालै मात्र एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै १ हजार ७३ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले ५ हजार १६३ मत ल्याउँदा काँग्रेसका रामजनम चौधरीले ४ हजार हजार १७१ मतले उहाँलाई पछ्याइरहनु भएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका यी दुवै जनाबीच कडा टक्कर रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली काँग्रेसका सुनीलकुमार भण्डारीले ६ हजार ४४६ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

 

  • 40Read This News:
  • 452864Total reads:
  • 264102Total visitors: